११ कार्तिक २०८१, आइतबार 1730081210
Banner

राष्ट्रपतिद्धारा सर्वदलीय बैठक आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध भईरहेको छ।