११ कार्तिक २०८१, आइतबार 1730088759
Banner

कोशी प्रदेश सरकार फेरि संकटमा, भोलिको बैठकमा ९ सांसद अनुपस्थित हुने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न भोलि कोशी प्रदेशसभाको बैठक बस्दै छ। मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन् ।

दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागिरहँदा राप्रपाले आफ्ना सबै सांसदलाई विश्वासको मतका दिन प्रदेशसभामा अनुपस्थित गराउने तयारी गरेको हो। विपक्षी दलको यस्तो तयारीले थापा नेतृत्वको कोशी सरकार फेरि संकटमा परेको छ ।

९२ सदस्यीय कोशी प्रदेशको अंक गणित निकै अप्ठ्यारो रहेकाले भोलि के हुन्छ भन्ने चासो राजनीति वृतमा बढेको छ । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत ४७ सदस्य रहे पनि बैठकको अध्यक्षता कसले गर्छ भन्ने विषयले कोशीको गणितलाई सकसपूर्ण बनाएको छ । प्रदेशसभाको सोमबारको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले सांसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए । उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताउनु भयो ।

यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनु भएको हो।