काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री नारायाणकाजी श्रेष्ठ छलफलमा जुटेका छन् ।
मंगलबार बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएसँगै तीन नेता छलफलमा जुटेका हुन् । तर, तीन नेताबीचको प्रयोजनबारे केही खुलाइएको छैन ।
यसअघि आइतबारको सर्वदलीय बैठकमा देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका थिए ।
यसअघि नेपाली कांग्रेसका नेतालाई मात्रै छानीछानी पक्राउ गरेको भनी शेरबहादुर देउवाले नारायणकाजी श्रेष्ठमाथि आरोप लगाएका थिए । तर, उपसभापति पूर्णबहादुर खड्काले रोक्न खोज्दा देउवा झोकिन छाडेका थिएनन् ।
आफ्ना पार्टीका नेता बालकृष्ण खाणँलाई थुनेर माओवादीका नेता कृष्णबहादुर महरालाई किन नथुनेको भन्दै देउवा गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए ।
देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका थिए ।
प्रचण्डमाथि गठबन्धन प्रमुख घटक कांग्रेसको समेत दबाबका कारण हिजो उच्चस्तरीय समिति बनाउन सरकार लचक भएको बताइएको छ ।