काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्दा आफूहरु बदनाम हुने बताउँदै भोलि बस्ने सर्वदलीय बैठकमा नजाने संकेत गरेका छन् ।
मंगलबारको बैठक प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई देखाएर सारेपछि रविले असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गछौं ।’
आज समितिको विषयलाई टुंग्याएर संसद चलाउने तयारी थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको शीर्ष नेताको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ ।
तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन सिंहदरबारमा प्रमुख दलका नेता सम्मिलित बैठक डाकिएको थियो ।
तर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण अनुपस्थित भएकाले एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुग्यो ।