१० कार्तिक २०८१, शनिबार 1729995248
अर्थ

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ गर्न महानगरपालिकाको सिफारिस

काठमाडौं । वीरगन्ज महानगरपालिकाले बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सिफारिस गरेको छ।

बचतकर्ताहरूको १ अर्बभन्दा बढी निक्षेप रकम फिर्ता गर्न नसकेर सम्पर्कविहीन भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकहरूलाइ पक्राउ गरी कारबाही गर्न महानगरपालिकाले विभिन्न निकायमा पत्राचार गरेको हो।

वीरगन्ज महागरपालिका(१० आदर्शनगरस्थित सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी )र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको हो।

पत्रमा उक्त सहकारीले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरूले बचत गरेको करिब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाका सञ्चालक र पदाधिकारीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ।

महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ।

Tags :