काठमाडौ । कपिलवस्तुमा माछा मार्ने क्रममा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका –८ ढोडेकालेस्थित बाणगङ्गा नदीबाट सिंचाइँका लागि बनाइएको कुलोमा माछा मार्ने क्रममा उहाँलाई बगाएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाणगङ्गा नगरपालिका –८ की ५० वर्षीया गुड्डी थारु रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलालाई बिहीबार बिहानको समय कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उहाँको शव करिब एक किलोमिटर तल फेला परेको प्रहरीको भनाइ छ । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।