२७ बैशाख २०८३, आइतबार 1778421236
Banner

धरानमा संयमित भइदिन सर्वदलीय बैठकको अपिल

काठमाडौं । धरानमा बसेको सर्वदलीय बैठकले संयमित हुन आह्वान गरेको छ । धरानमा हुन सक्ने घटनालाई आँकलन गरेर आज बसेको १३ दलको संयुक्त बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरु स्थगित गर्न आह्वान गर्दै साझा विज्ञप्ति यस्तो अपिल गरेको हो । सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न अनुरोध गरिएको छ ।

विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।

‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षीय सर्वदलीय वार्ता तथा संवाजबाट समाधान गर्न प्रतिवद्ध रहेको दलहरुले जनाएका छन् । ‘भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरणसहज बनाउनका लागि भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

साथै, सम्वन्धित निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका हध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङले हस्ताक्षर गरेका छन् ।