सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्याली आयोजना गरेका छन। र्यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा शनिबार राति १२ बजेसम्म लागु हुनेछ । प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
यस्तै, धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ । प्रशासनले निषेधाज्ञा अवज्ञा हुने कुनै पनि क्रियाकलाप भए कारबाही हुने चेतावनीसमेत दिएको छ । धरानमा पछिल्लो समय गोरू काटेर खाएको विषयलाई लिएर विवाद चुलिँदो छ ।
धरानका मेयर हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गरेका छन् । मेयर राईले एक अपिल जारी गर्दै समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खल्बलिने उल्लेख गरेका छन् ।
धरानका निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङबो र पूर्वउपमेयर मीनकुमार सुब्बाले पनि संयुक्त अपिल जारी गर्दै सद्भाव कायम राख्न अपिल गरेका छन् ।