१८ श्रावण २०८३, सोमबार 1785762155
Banner

गौरहत्याका दोषीलाई कारबाही नभए हेग जाने प्रभु शाहको चेतावनी

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाहीका लागि आफूहरु हेग जाने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गर्दै यस्तसो बताएका हुन् ।

कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’

गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।

पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उनको चेतावनी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले स्मरण गरे । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।