११ कार्तिक २०८१, आइतबार 1730016596
Banner

एमसीसी कार्यान्वयनमा जान्छ,१२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेती : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी क्रममा एमसीसी संसदबाटै पास भइसकेको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ उनले भने, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’ ओलीले भने । तर, ओलीले एमसीसी पास गर्ने बेलामा संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने उनले झुटको संज्ञा दिएका छन् ।

‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ उनलेले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’ सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो ।

१२ बुँदे व्याख्यात्मक टिप्पणी गरी एमसीसी पास गर्नेहरुमध्ये एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थानमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सन्दर्भमा संसदबाट पारित १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुन्छ वा हुँदैन भन्नेबारे अस्पष्ट धारणा व्यक्त गरेका छन् । यसअघि एमसीसी र १२बुँदे व्याख्यात्मक टिप्पणी संसदबाट पारित भएकाले सँगै कार्यान्वयन हुने बताउँदै आएका थिए ।

Tags :