११ कार्तिक २०८१, आइतबार 1730052915
Banner

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई हरायो

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ।

KUALA LUMPUR,MALAYSIA – AUGUST 31: Images from the match between Malaysia and Nepal during the 2023 ICC Women’s T20 Asia Qualifier at Bayuemas Oval, Selangor, Malaysia on 31st August 2023. Photo by Peter Lim/ICC

नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् ।

त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक÷एक विकेट लिए । मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई÷दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए ।

नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।