काठमाडौं । नवलपरासीको कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय ८१ घरधुरीका एक हजार जनसङ्ख्या लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।
सङ्घीय सरकारको सिँचाइ विशेष कार्यक्रम अन्तर्गत भैरहवास्थित लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन कार्यालयले डिप ट्युवबेल निर्माण गरिदिएको पुरानो कावासोती डिप ट्युबेल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
कूल लागत रु ८६ लाख ५८ हजार दुई सयमध्ये उपभोक्ता समूहले रु तीन लाख ७१ हजार एक सय ९३ लागत सहभागिता जनाएको श्रेष्ठको भनाइ छ । वर्षौँदेखि सिँचाइको अभावले कृषि पेसानै सङ्कटमा परेको बेला डिप ट्यूवबेल निर्माणपछि आफूहरु हर्षित भएको श्रेष्ठले बताए ।
सिँचाइका लागि निर्माण गरिएको डिप ट्युवबेलमा सी आकारमा एक हजार मिटर भूमिगत पाइप विच्छ््याइएको जियोलोजिष्ट इञ्जिनियर कपिल महर्जनले बताए। उनकाअनुसार भूमिगत पाइपमध्ये एक दर्जन आउटलेट, दुईवटा एअर पाइप तथा क्षेत्र विस्तारका लागि तीनवटा टी फिटिङ गरिएको छ ।
डिप ट्यूवबेलको प्रतिसेकेन्ड २५ लिटर पानी फाल्ने क्षमता रहेको भन्दै महर्जनले ट्युवबेलबाट निकालिएको भूमिगत जल १८ फिटमाथि ओभरहेड ट्याङ्कीमा पठाइ त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको बताए ।