७ असार २०८३, आइतबार 1782097584
Banner

ओलीको विकल्प सोच्न सकिदैन : विष्णु पौडेल

बुटवल-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नु भएको छ। शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन। यही नीतिले देश विकास हुन्छ। नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन्।’ 

उपाध्यक्ष पौडेलले १०औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन । पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुनुहोला।’

नेता पौडेलले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको दाबी समेत गर्नुभयो । उहाँले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको दाबी गर्नुभयो।

उपाध्यक्ष पौडेलले आफू र महासचिव बीच जोडेर गुटबन्दीको चर्चा चलेकोमा पनि आपत्ति जनाउनु भयो। उहाँले आफू कुनै पनि गुटबन्दीमा नलाग्ने भन्दै गुटबन्दी मुर्दावाद र पार्टी एकता जिन्दाबाद भनेर अघि बढ्ने बताउनु भयो।