११ कार्तिक २०८१, आइतबार 1730009666
Banner

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

सो कमिटी सहमतिमा चयन गर्ने प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको हो ।
सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।

रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ ।

सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि असफल भएको बताएका छन् । खास गरी अध्यक्षमा आकाङ्क्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भएपनि असम्भव भएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

लुम्बिनी प्रदेश अधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने भनिए पनि अन्त्यसम्ममा सफल भएन । यसअघि सो अधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएका थिए । र, सहमतिका लागि नेतृ पद्यमा अर्याललाई जिम्मेवारी दिएका थिए ।