१० कार्तिक २०८१, शनिबार 1730002396
Banner

बालेनलाई जिल्ला प्रशासन कार्यालयले भन्यो, कर्मचारीको मनोबल कमजोर बनाउने जथाभावी वक्तव्यबाजी नगर्नू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सिंहदरबारमा आगो लगाइदिने जस्तो चेतावनीको स्टाटस लेखेपछि सोमबार जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो।

विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरूत्साहित गर्ने गरी सामाजिक जञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरूमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’

कार्यालयले सरकारी स्रोत साधनको दुरूपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरू मार्फत् विगतदेखि नै हुँदै आएको पनि जनाएको छ।

‘कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरूका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानविन गरी आवश्यक निर्णय हुनेछ,’विज्ञप्तिमा उल्लेख छ।

शनिबार महानगरपालिकाका प्रमुख साहले आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्कीपूर्ण स्टाटस लेखेका थिए। उनले लेखेका थिए,‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ मिडिया, प्रशासन र आमजनताबाट चौतर्फी दबाब आएपछि मेयर साहले उक्त स्टाटस हटाएका छन्।

आइतबार प्रमुख साहले सचिवालयमार्फत चेकजाँचकको क्रममा ट्राफिक प्रहरीहरूले अनावश्यक दुस्ख दिएको भन्दै प्रेस विज्ञप्तिसमेत जारी गराएका थिए। ​