काठमाडौं । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उहाँको अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन्, उहाँले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेल्नुभएको भूमिकाको स्मरण गर्न भुलेका छैनन् । श्रद्धाञ्जलि दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्थ्यो, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता हुनुहुन्थ्यो । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उहाँका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदाना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जलि दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्कनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको धर्मपत्नी राधिका शाक्यपनि निकै नै भावुक बन्नुभएको थियो ।

श्रञ्द्धाजलि दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सक्नुभएन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उहाँकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्कनुभयो । यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन ।
नेम्वाङको योगदान र उहाँको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उहाँलाई श्रद्धाञ्जलि दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिकरुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जलि दिनुभयो । श्रद्धाञ्जलि दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलिका लागि च्यासल पुग्नुभएको थियो ।











