३० भाद्र २०८१, आइतबार 1726464801
राजनीति

संविधान कार्यान्वयनमा नेतृत्व चुकेको खनालको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एमालेद्वारा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा धारणा प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे ।

उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताए ।

उनले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।