१२ मंसिर २०८१, बुधबार 1732702225
Banner

क्यानडामा रहेका नागरिकलाई सतर्क रहन भारतको आग्रह

काठमाडौं । भारतले क्यानडामा रहेका आफ्ना विद्यार्थी तथा नागरिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएसँगै बढेको तिक्ततका कारण भारतले आफ्ना नागरिकलाई सतर्क रहन निर्देशन दिएको हो ।

मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।

क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई मंगलबार देश छोड्न निर्देशन दिएको थियो ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको थियो ।

भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानाडामा भारत विरोधी गतिविधिहरू सहित क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न र सतर्क रहन भन्दै कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन भनेको छ ।

‘क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू र यात्राको तयारीमा रहेकाहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह छ । भारतीय नागरिकहरूलाई क्यानाडामा भारत विरोधी एजेन्डाको विरोध भइरहेका क्षेत्र र सम्भावित स्थानहरूमा यात्रा नगर्नु होला’, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘क्यानडामा बिग्रिएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध छ । क्यानडामा रहेका भारतीय नागरिकहरू र विद्यार्थीहरूले पनि ओटावामा रहेको भारतीय उच्चायोग वा टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा उनीहरूको सम्बन्धित वेबसाइटहरू वा मद्दत पोर्टलमा आफ्नो अवस्था दर्ता गर्नुहोला । यसले उच्चायोग र महावाणिज्य दूतावासलाई कुनै पनि आपतकालीन वा अप्रिय घटनाको अवस्थामा क्यानाडामा रहेका भारतीय नागरिकहरूसँग राम्रोसँग सम्पर्क गर्न सहयोग पुर्‍याउने छ’, विज्ञप्तिमा उल्लेख छ ।

क्यानडाले मंगलबार राति ट्राभल एजभाइजरी अपडेट गर्दै आफ्ना नागरिकलाई भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको थियो ।