काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै विद्यालय बन्द भएका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिए पनि सोलाई बेवास्था गर्दै काठमाडौं महानगरका विद्यालय बन्द भएका हुन् ।
महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् ।
अधिकांश कक्षा १० मा पढ्ने विद्यार्थीहरू सधैँ बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए । सोही अनुसार आज पनि रत्नराज्य लगायतका विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेका थिए । तर उनीहरू पढ्न भने पाएनन् ।
बानेश्वरस्थित रत्नराज्यको प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।
त्यसो त महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका गरेका थिए ।