१० कार्तिक २०८१, शनिबार 1729951704
Banner

सत्यसँग सिङ नजुधाउन अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग सिङ नजुधाउन चेतावनी दिएका छन् ।

काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताए । उनले सरकार आफैँ मुलुकको अवस्था बिगार्न लागिरहेको पनि बताए ।

‘अवस्थालाई बिगार्न सरकार आफै लागेको छ’, उनले भने, ‘शिक्षकहरु सडकमा छन् । सरकारलाई ढुक्क लागेको होला स्थायी र करार भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ । केहीलाई सडकमा पठाएँ भनेर ।’

उनले सरकारको ध्यानाकर्षण गराउँदै शक्ति विभाजन गर्नसकेपनि सत्य विभाजन गर्न नसक्ने बताए । ‘शक्ति विभाजित गर्न सकिएला तर सत्य विभाजित हुँदैन । सत्य एउटै हुन्छ’, ओलीले भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ । फुक्लिन्छ । शिक्षकहरुसँग दम्भ नदेखाउनुस् ।’ उनले शिक्षकसँगको वार्ता शिक्षा मन्त्रालयमा वार्ता नगरेर गृह मन्त्रालयमा वार्ता गरेको भन्दै एक थरीसँग वार्ता गरेपनि अर्को थरीलाई बेवास्ता गरिरहेको बताए ।