११ कार्तिक २०८१, आइतबार 1730009599
Banner

अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको छ: अध्यक्ष ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनु भएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनु भएको हो।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको विषय भएको उहाँले बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिँदा पनि व्यवसायीहरूको समस्यामा सरकारले कुनै चासो नदेखाएको जिकिर गर्नुभयो।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकल्ने गरी बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको उहाँले बताउनु भयो। अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउँदै कमिशनको चक्करमा लागेको आरोप लगाउनु भयो।

अध्यक्ष ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफूले राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिवद्धता जनाउनु भयो।