८ मंसिर २०८१, शनिबार 1732403553
पर्यटन

पर्यटन बोर्डभित्र रहेका खुम्ले कीराका कारण पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटनमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्लेकीरा रहेको बताएका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले भने, ‘हाम्रो देशको आकाशको कालोसूची हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदम उठाइसकेका छौं । छिट्टै परिणाममा पुग्नेछौं । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौं । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौं । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौती हो । ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौं । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्लेकीराहरू छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्नेछौं ।’
कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकतामा मन्त्रीको जोड थियो । हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको पनि उनले जानकारी दिए ।