२ आश्विन २०८१, बुधबार 1726715242
Uncategorized

काठमाडौं मेडिकल कलेजका विद्यार्थी आन्दोलित

काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरूको आन्दोलन जारी छ । बढी शुल्क लिइएको भन्दै विगत एक महिनादेखि करिब १०० विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तर, कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको छ । अतिरिक्त शुल्क बुझाएका १३ जनाले भने पढ्न सुरु गरेका छन् । जसमा एमबीबीएसतर्फ ६ र बीडीएसतर्फ सातजना छन् ।

काठमाडौं विश्वविद्यालयले गएको मंसिर १२ गते काठमाडौं मेडिकल कलेजको अध्ययन/अध्यापन सुरु गराउने सम्बन्धमा सूचना जारी गरेको थियो । विद्यार्थीहरूले कलेजको दबाबका कारण चार लाख रुपैयाँ अतिरिक्त शुल्क बुझाइसकेका छन् ।

काठमाडौं मेडिकल कलेजमा १०० जनाले एमबीबीएस र ३८ जनाले बीडीएसमा पढ्न पाएका हुन् । कलेजले एक सातादेखि अतिरिक्त शुल्क बुझाएकालाई मात्र पढाउन थालेको छ ।

यता, विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि अतिरिक्त शुल्क बुझाउन नमानेका विद्यार्थीलाई गेटमै रोक लगाएको विद्यार्थीको गुनासो छ । यी कलेजले ४० लाख रुपैयाँसम्म अतिरिक्त शुल्क मागेका पीडित विद्यार्थीको भनाइ छ । जसमध्ये चार लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थी बताउँछन् ।

चिकित्सा शिक्षा आयोगले काठमाडौं मेडिकल कलेजलाई अतिरिक्त शुल्कबारे स्पष्टीकरण सोधेको छ । तर, जवाफ भने अहिलेसम्म नपाएको आयोगले जनाएको छ ।