१२ मंसिर २०८१, बुधबार 1732766702
Banner

नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज समझदारीपत्र (एमओयु) हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गर्नुभयो । “निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौँ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौँ”, उहाँले भन्नुभयो । अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान सङ्ख्या बढाएर लैजाने प्रयासमा रहेको बताउनुभयो । उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजन रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँओ औँल्याउनुभयो । राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने तीनवटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहालले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । निगम र निजी क्षेत्रका चार संस्थाबीच निगमको सहकार्य निगमले व्यावसायिक साझेदारिता बढाउने उद्देश्यले निजी क्षेत्रका विभिन्न चारवटा संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र ती संस्थाका अध्यक्षले सहकार्यसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गर्नुभएको हो । निगमले नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल संस्था, नेपाल युवा उद्यमी परिसङ्घ, नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्द्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय ध्वजाबाहकको सेवालाई आधुनिकीकरण गर्दै गन्तव्य विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट कुशकुमार जोशीले देशको गौरव र पहिचान नेपाल वायुसेवा निगमको शाखलाई बलियो बनाएर व्यावसायिक सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभयो । नेपाल युवा उद्यमी परिसङ्घका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ र परिसङ्घ कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले निगमको व्यावसायिक प्रवर्द्धनमा युवा उद्यमीले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रको साझेदारिताले निगमको व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।