१० कार्तिक २०८१, शनिबार 1729930807
Banner

६० किलो सुन तस्करी प्रकरणः २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागारमा थुनामा पठाउन आदेश दिएको हो । अदालतले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेश गरेको थियो।

चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, ली वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

यस्तै कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठलाई थुनामा पठाउन आदेश भएको हो।

कलैया उपमहानगर १ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार छिन्।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि सरकारी वकिलले २९ जनाविरूद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।