९ कार्तिक २०८१, शुक्रबार 1729908953
राजनीति

वीर अस्पतालका करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिनुपर्छ: विद्या भट्टराई

काठमाडौं-नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ।

आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुलाई आज (आइतवार) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नआउन निर्देशन दिएकोमा आपत्ति जनाउनु भयो।

उहाँले उनीहरुलाई हटाउने निर्णय फिर्ता लिन पनि सरकारसँग आग्रह गर्नुभयो। सांसद भट्टराईले वीर अस्पतालको बिस्तारित सेवाका लागि र नागरिकलाई निजी स्वास्थ्य संस्थामा जान बाध्य नपार्न पनि सरकारले उनीहरुको सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो।

उहाँले भन्नुभयो, ‘वीर अस्पतालका कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई दशैंको सम्मुखमा सरकारले हटाउने निर्णय गरेको छ। कोरोना महामारीका समयमा नियुक्त गरिएका ५० डाक्टर, १६२ नर्स, ११ जना प्रयोगशाला प्राविधिकका साथ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउनका लागि माननीय स्वास्थ्यमन्त्रीज्युले निर्देशन दिनुभएको छ भन्ने समाचार आएको छ। वीर अस्पतालको सेवा बिस्तार भएको छ। ३५० शय्या रहेकोमा अहिले नौ सय बनाइएको छ। ८३१ दरबन्दी मन्त्रालयले स्वीकृति गरिसकेको छ।’

सांसद भट्टराईले सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालको गतिविधि गर्न नहुने पनि बताउनु भयो।