९ कार्तिक २०८१, शुक्रबार 1729887534
Banner

नेपाललाई जानकारी नदिइ भारतीय प्रधानमन्त्री नेपालको भूभागमा प्रवेश गर्नु आपत्तिजनक : डा.भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिई नेपाली भूभागमा प्रवेशबारे नेपाल सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ । नेपाललाई जानकारी नदिई भारतीय प्रधानमन्त्री नेपालको भूमि प्रवेश गर्नु निकै संवेदनशील विषय भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’

उनी थप्छन्, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ?’

डा। रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन् ।

मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् ।