२७ बैशाख २०८३, आइतबार 1778468568
समाचार

एनआरएनए निर्वाचन : महेश श्रेष्ठलाई समर्थन गर्दै रविनाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौँ । गैर आवासीय नेपाली संघको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन्। बुधबार राति एक प्रेस वक्तव्य जारी गर्दै श्रीमती थापाले संघलाई एकताबद्ध गर्न आफुले त्यस्तो निर्णय गरेको जनाएकी हुन्।

‘अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसको स्वागत र समर्थन गर्दछु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु,‘ उनले वक्तव्यमा भनेकी छन् । यसअघि २०२१–२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने जनाएकी थिइन्।

थापाले श्रेष्ठलाई समर्थन गरेपछि आज तिन जना अध्यक्षका उम्मेद्धवारबीच कडा प्रतिस्पर्धा हुँदैन । आज हुने निर्वाचनमा हालका अध्यक्ष डा. बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।