९ कार्तिक २०८१, शुक्रबार 1729851058
Banner

पूर्वीनेपालका सहरमा पोखराको पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं । होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ ।

पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको जानकारी दिए ।

“अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण प्रभाव पारेको छ,” उनले भने, “कोरोना महामारी लगायतका विभिन्न विपत्तिका कारण प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनले विशेष योगदान पुर्‍याएको छ ।”

पूर्व नेपालमा गर्न लागिएका प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, विर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।