८ कार्तिक २०८१, बिहिबार 1729821810
Banner

सर्लाही धनकौल गाउँपालिका ५ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

काठमाडौं । सर्लाही अदातले सर्लाही धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई कारागार चलान गर्न आदेश दिएको छ।

अदालतका श्रेस्तेदार सदन अधिकारीका अनुसार न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उनले केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा जिल्ला प्रहरी कार्यालयमा उनीविरूद्ध कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएका हुन्। अधिकारीका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष हुन्।

अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी)दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। उनीहरूको खोजी भइरहेको डिएसपी पञ्जियारले जानकारी दिए।