काठमाडौं । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।
प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए । मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ ।