८ कार्तिक २०८१, बिहिबार 1729821847
Banner

जुवा र तास नखेल्न नेपाल प्रहरीको अपिल

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ ।

यस्तै, कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा नजान अनुरोध गरेको छ । चोरीको सम्भावना अधिक हुने भएको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालयले यस्तो अनुरोध गरेको हो ।

तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ ।
सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ ।