२९ भाद्र २०८१, शनिबार 1726370557
पालिका

भूकम्पपीडितलाई टोखा नगरपालिकाको १६ लाख सहयोग

काठमाडौं । टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु १६ लाख आर्थिक सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले भूकम्पपीडित जनतालाई राहत, पुनःस्थापना र उपचारका लागि नगर विपद् कोषबाट रु १० लाख र जनप्रतिनिधि तथा कर्मचारीको तलब भत्ताबापतको रकम छ लाख गरी रु १६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगर विपद् कोषबाट रु १० लाख र नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतको कर्मचारीको दुई दिन र सोभन्दा तल्लो तहका कर्मचारीको एक दिनको पारिश्रमिक सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, माध्यामिक तहका शिक्षकको दुई दिन र अन्य तहका शिक्षकको एक दिनको पारिश्रमिक उपलब्ध गराउनेसमेत सो बैठकले निर्णय गरेको छ । टोखाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त घटनामा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।