९ मंसिर २०८१, आइतबार 1732474278
विश्व

सोमालियामा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले आइतबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, “हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।”

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ । चार दशकयताकै सबैभन्दा खराब खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएको छ भने खडेरीले देशलाई अनिकालको सङ्घारमा पुर्‍याएको छ ।

ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटनाहरू रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगहरूको सम्भावित फैलावटको बारेमा चिन्ता बढ्दै गएको छ । मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो । हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे सहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ ।

मानवीय संस्थाहरूका अनुसार सोमालियामा हालैका वर्षहरूमा आएको चरम मौसमी घटनाहरूको शृङ्खलामा बाढी पछिल्लो हो, जहाँ समुदायहरू विश्वव्यापी जलवायु सङ्कटको तीव्र अवस्थामा छन् ।