काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको जिल्ला जिल्ला प्रहरीले दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।
प्रहरीका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको डिएसपी मल्लको भनाइ छ ।