३१ बैशाख २०८३, बिहिबार 1778798266
Banner

दाङ दुर्घटनाका घाइतेको उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले दाङमा १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु। दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशित गर्दछु।’

गएराति बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि गुडेको नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस दाङको भालुबाङनिर राप्ती नदीमा खसेको थियो । घटनामा १२ जनको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।