९ मंसिर २०८१, आइतबार 1732459148
Banner

त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु

काठमाडौँ– मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।

सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन -आन्तरिक र अन्तर्राष्ट्रिय_ पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

महाप्रबन्धक तिवारीले अन्तराष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।