८ मंसिर २०८१, शनिबार 1732395586
Banner

राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू

काठमाडौं : निर्वाचन आयोगले माघ ११ गने हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगको आइतबार बसेको बैठकले माघ २ देखि १२ गतेसम्मका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि निर्वाचन हुँदैछ।

आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ र निर्वाचन आचारसंहिता,२०७९ को दफा १ को उपदफा (२) अनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको हो।

आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने व्यवस्था छ ।

यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मष्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था छ ।