काठमाडौ । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएकाे छ।
संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । निर्वाचन भने चैत २८ गते हुँदैछ ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो ।
उहाँले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रियसभा उपाध्यक्षबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त छ ।