९ भदौ २०८३, मंगलबार 1787695339
Banner

जति पटक विश्वासको मत लिनुपरे पनि पाउँछु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्।

शनिवार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत पाउने दावी गरे। उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे।

प्रधानमन्त्री दाहालले भने, ‘७ गतेको दिन विश्वासको मत लिनेछु। अहिले चौथोपटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुनेमा म विश्वस्त छु। धेरै चिन्ता लिनुपर्दैन। कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ तर विश्वासको मत प्राप्त हुन्छ। कुनै दुविधामा पर्नु पर्दैन।’

प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको भन्दै आइतवार बिहानसम्म सहज रूपमा संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए। उनले आफूले संसद्को अवरोध हटाउन केही दिनयता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए। उनले संसद् सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रूपमा अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताए।