७ आश्विन २०८१, सोमबार 1727097404
फिचर

पशुपतिनाथको भेटी चोर्ने पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् ।

अदालतले काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ ।