१५ श्रावण २०८३, शुक्रबार 1785550984
Banner

पोखरा पहिरो अपडेट : एकैपरिवारका सातजनासहित ९ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा एकै परिवारका सातजना सहित अन्य दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।

बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।