३ कार्तिक २०८१, शनिबार 1729330259
समाचार

पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी

कास्की- गएराति कास्कीमा पहिरोमा परी मृत्यु हुनुभएका पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका पाँच जनाको सामुहिक अन्त्येष्टी गरिएको छ ।

उहाँहरुको सेती नदीस्थित चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो । घटनामा परी स्थानीय ४६ वर्षे कुलबहादुर परियार, उहाँकी श्रीमती वर्ष ४३ की मनकुमारी परियार, उहाँकी आमा वर्ष ८५ की लक्षीमा परियार, कुलबहादुरकी छोरी वर्ष १५ की प्रशना परियार, ५६ वषिया राधिका परियार, विवाह भएकी छोरी वर्ष २० की प्रभा परियार (माइत आउनुभएकी), उहाँका ज्वाई स्याङजा अर्जुनचौपारी निवासी वर्ष २५ का अस्मित परियार (ससुराली आउनुभएको) को ज्यान गएको थियो ।

घटनामा ज्यान गुमाउनुभएका सातमध्ये विवाह भएकी छोरी प्रभा र उहाँका ज्वाई अस्मित परियार बाहेक अन्य पाँच जनाको शुक्रबार चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो ।

प्रभा र अस्मितको शव यतिवेला मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । उहाँहरुको शवलाई गृह जिल्ला स्याङजा लैजाने तयारी गरिएको छ । अन्त्यष्टीमा पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सीना लगायतका जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरु पुग्नुभएको थियो ।

उक्त घटनामा परी स्थानीय ३१ वर्षका कुमार परियार र वर्ष १७ का कुलबहादुरका कान्छा छोरा पवन परियार घाइते हुनुभएको छ । त्यसैगरी गएराति करिव २ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा पहिरोमा परी स्थानीय वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का ओझा तथा वर्ष ९ का प्रतिक सुवेदीको पनि ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा परी ४० वर्षीया घरधनी आरती ओझा घाइते हुनुभएकोमा उहाँको अहिले पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी गएराति करिव १ बजेको समयमा कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले भन्ने स्थानमा पहिरोमा परी ८० वर्षिया माईतीकुमारी गुरुङको पनि ज्यान गएको छ । उक्त घटनामा मृतक माईतीकुमारीका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई भने स्थानीयको सहयोगमा प्रहरीले सकुशल उद्दार गरेको छ ।