२३ भाद्र २०८१, आइतबार 1725778180
फिचर

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रवार भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूली नदीमा खसेको बससँगै बेपत्ता छिन् । 

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन् । जागिरे भए पनि उनी सन्तुष्ट थिइनन् । त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन् । तर काठमाडौं नपुग्दै त्रिशूलीमै बेपत्ता भइन् । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ । 

सृष्टिका बुवा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रवार बससँगै त्रिशूलीमा बेपत्ता भएको जानकारी दिए । दुई दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन्, ‘छोरीले राति १० बजे कुरा गरेर बुवा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थिन् तर त्यसअघि यस्तो भयो ।’

छोरीको अवस्था पत्ता लाग्ने पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन् । तर उनले जीवितै भेटिने आशा मारिसकेका छन् ।  ‘छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्,’ उनले भने ।