२८ भदौ २०८३, आइतबार 1789328736
अर्थ

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं-नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ। सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन्। नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। नबिल बैंकका सिइओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो। उहाँले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताउनु भयो।

एनसेलका सिइओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताउनुभयो। अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एन बैंक गरी तीनवटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो। बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।