२३ भाद्र २०८१, आइतबार 1725776177
Banner

शंकर ग्रुपले ८ अर्बमा बनायो पाँचतारे हिल्टन होटल, प्रधानमन्त्रीद्धारा शुभारम्भ

काठमाडौं । शंकर ग्रुपको ८ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हिल्टन होटल सञ्चालनमा आएको छ । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा १ सय ७४ कोठाहरु छन् । निर्माण थाल्दा ‘डबल ट्री बाइ हिल्टन’ बनाउने सम्झौता थियो । तर, अब स्तरोन्नति फ्ल्यागसिप ब्रान्ड ‘हिल्टन’ कै नाममा सञ्चालनमा आएको छ ।

हिल्टन काठमाडौंंको स्केच, जुन निर्माण अगाडि नै वर्ल्ड आर्किटेक्चर कम्युनिटीबाट पुरस्कृत भएको थियो । ‘यसअघि कोठा संख्या पनि १ सय २८ मात्रै बनाउने योजना थियो, क्षेत्रफल पनि कम थियो । कोठा संख्या तथा सुविधा थपेर पूर्ण क्षमतामा हिल्टन ब्रान्डको होटल सञ्चालनमा आएको छ । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । हिल्टनले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको छ।

निर्माण क्रममा सडक भासिएको तथा डिजाइन परिवर्तन गर्नुपरेकाले पनि थप समय लागेको हो । १० रोपनी क्षेत्रफलमा फैलिएको हिल्टन काठमाडौंमा १ सय ७२ कोठा छ । यो होटलको कुल ‘बिल्डअप एरिया’ करिब २० हजार वर्गमिटर छ । नक्साल भगवती मन्दिर नजिकै रहेको होटल बेसमेन्ट दुई तलासहित कुल १७ तला छ ।

होटलमा हाल चार रेस्टुरेन्ट रहने र २ सय जना अट्ने सभाहल पनि तयार भइसकेको छ । होटलमा एउटा ‘प्रेसिडेन्सियल सुइट’, दुइटा लक्जरी सुइट र अन्य १० सुइट रुम छ । सुइटको दर भने ५ सयदेखि २ हजार अमेरिकी डलरसम्म रहेको अग्रवालले बताए ।

कुल लगानीको ७० प्रतिशत ऋण लिएको कम्पनीले त्यसको ऋण तिर्न ९ वर्ष लाग्ने जनाएको छ ।नक्सालमा निर्माण भएको हिलटन होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको हिलटन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिए । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु”, उनले भने ।
होटलले सफ्ट ओपनिङदेखि नै कोठा र बैंक्विट हल पूर्ण रुपमा सञ्चालनमा रहेको जनाएको छ।

होटल व्यवस्थापनको जिम्मा बेलायतको हिल्टन वल्र्डवाइड म्यानेजमेन्ट लिमिटेडले गरेको छ। यसमा हिल्टन वल्र्डवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले १ सय १८ देशमा ६ हजार २ सय १५ होटल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ। हिल्टनले मार्केटिङ र ब्रान्ड पहिचान स्थापना तथा हस्पिटालिटी सञ्जाल निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा जगदम्बाको छ। होटल अध्यक्षमा शाहिल अग्रवालको ९० प्रतिशत लगानी छ।

उनीसँग दुई दशक लामो व्यावसायिक अनुभव छ। ग्रुपले सिमेन्ट र डन्डी उद्योगमा आक्रामक लगानी विस्तार गरेको छ। यस्तै बैंक तथा बिमा, जलविद्युत, व्यापार र घरजग्गालगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ।