६ आश्विन २०८१, आइतबार 1727038138
अर्थ

राष्ट्र बैंकले ल्याएको रेमिट कम्पनी मर्जर नीतिको पहिलो कार्यान्वयनकर्ता बनेका छौं : चन्द्र ढकाल

आइएमई र जिएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो ।

नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि यो भन्दा अर्को खुसीको कुरा अर्को के होला ?

हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमती सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो । निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरि सकेको थियो ।

मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढी भन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ ।

त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको विश्वासको निकै ठूलो महत्व छ ।

एक करोड चुक्ता पुँजीको आइएमई अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।

आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ ।

हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ । हामीलाई यहाँसम्म पुग्न निरन्तररुपमा यहाँहरुको साथ सहयोग रह्यो । यसका लागि हामी यहाँहरु सबैप्रति कृतज्ञ छौँ । निजी क्षेत्रलाई रेमिट्यान्स व्यवसायमा सहजीकरण, गाइडेन्स, सहयोग र अनुमती प्रदान गर्न सहयोग गर्ने नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर दिपेन्द्र पुरुष ढकाल, डा तिलक रावल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, डा युवराज खतिवडा, दिपेन्द्र बहादुर क्षेत्री, डा चिरञ्जिवी नेपाल, वर्तमान सञ्चालक रबिन्द्र पाण्डे लगायत धेरै व्यक्तिहरुलाई म स्मरण गर्न चाहन्छु । तत्कालिन समयमा रेमिट्यान्स कम्पनी स्थापनाको कुरा अगाडि बढाउन यहाँहरुको भूमिका महत्वपूर्ण रह्यो ।

त्यसैगरी, थाइल्यान्डका लागि तत्कालिन नेपाली राजदूत जनक बहादुर सिंह, पूर्व राजदूत दिपक धिताल, तत्कालिन डीसीएम नारायण मैनाली, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय सबैको सकारात्मक सहयोग रहेको छ । त्यसैगरी, मलेशियाको केन्द्रीय बैंक, बैंक निगारा र त्यसका गभर्नर डा जेटी र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल राष्ट्र बैंकका साथै मलेशियाको केन्द्रीय बैंकमा पनि यसरी रेमिट्यान्स कारोबारको अनुमती पाउने पहिलो संस्था थियौँ । अझ, मलेशियाको केन्द्रीय बैंकले त हामीलाई अनुमती दिएसँगै ५ वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमती दिएको थिएन । हामीलाई सुरुवाती दिनमा सहयोग गर्ने मलेशियाका एस सी भ्याटबिलो लाई विशेष सम्झन चाहन्छु ।

अहिलेको उच्च व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु । अहिले आइएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरु हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आइएमईलाई चाडै नै पब्लिकमा लैजादैछौ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ । त्यसको फलस्वरुप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको संगमसहित नेपालकै सबै भन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।

हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीहरुबिच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ । हामीलाई विश्वास छ आगामि दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ । यसै अवसरमा आज म नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय, ग्राहकवर्ग तथा अन्य सरोकारवालाहरुलाई यहाँहरुको निरन्तर सहयोगको लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । यहाँहरुको निरन्तरको सहयोगले आज हामी अहिलेको अवस्थासम्म आइपुगेका छौँ ।

रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महशुस हामीले गरेका छौँ । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ ।

(आइएमई र जिएमई रेमिटको एकीकृत कारोबारमा अध्यक्ष चन्द्र ढकालले दिएको मन्तव्यको सम्पादित अंश)