३ आश्विन २०८१, बिहिबार 1726803747
Banner

प्रधानमन्त्री ओली विरुद्धको रिट खारेज

काठमाडौँ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको नियुक्ति विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा ओलीको नियुक्ति असंवैधानिक भन्दै रिट दायर भएको थियो ।

प्रधानमन्त्रीमा ओलीलाई गलत धारा प्रयोग गरेर नियुक्त गरिएको भन्दै गत साउन १४ गते तीन वटा रिट दर्ता गरिएका थिए ।

ती रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, कुमार रेग्मी र प्रकाशकुमार ढुंगाना सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको थियो ।

उक्त इजलासले निवेदकको दाबी नपुग्ने ठहर गर्दै खारेज गरेको हो । निवेदकहरूले उपधारा २ अन्तर्गत नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सोही उपधारा अनुसार प्रधानमन्त्री नियुक्त हुन नहुने र उपधारा ३ आकर्षित हुने दाबी गरेका थिए ।