३ आश्विन २०८१, बिहिबार 1726804402
अर्थ

नाडा अटो शोको तयारी पुरा, ५५ ब्राण्डका गाडी राखिने

काठमाडौं। अटो व्यवसायीहरूको सबैभन्दा ठूलो मेला नाडा अटो शो आउँदो भदौ ११ देखि १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । अटो शोको सबै तयारी पूरा भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी गराएको हो।

मेलामा २४ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा दुई पाङ्ग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड प्रदर्शन गरिने भएको छ । अटो शोमा ३३ कम्पनीका विभिन्न मोडेलका गाडी, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा रहनेछन्। मेलामा ७ वटा वित्तीय संस्थाले स्टल राख्ने तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ९५ प्रदर्शकले १ सय३० स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने जानकारी दिइयो ।

अटो शो विगतमा भन्दा भव्य हुने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए। उनले मेलाले अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रोजगारी र कर उठाउने ठूलो स्रोत भएकाले अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक रहेको बताए।

मेला अवलोकन गर्न चाहनेले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन्। अग्रिम टिकट खरिदकर्ताका लागि भदौ १० सम्मका लागि २० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ। मेला करिब ७५ हजारले अवलोकन गर्ने नाडाको अनुमान छ।

मेलामा टाटा डट ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह प्रायोजक रहने भएको छ।