४ आश्विन २०८१, शुक्रबार 1726813423
पालिका

काम गर्दा नगरवासी र मेयर बालेनको सहयोग छ : वडाध्यक्ष भाइराम खड्गी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बनेका भौतिक संरचना र साघुँरा बाटोका कारण आगलागी हुँदा दमकलसमेत छिर्न नसक्ने अवस्था थियो तर, यो समस्या अन्त्यका लागि काठमाडौँ महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी निर्वाचित भएर आएदेखि नै काम गर्न थाले । अहिले दमकल छिर्न नसकेपछि आगलागी हुँदा आगो नियन्त्रणका लागि गल्ली गल्लीमा पानीको पाइप पु¥याइसकेका छन् ।

‘पानीको पाइप पु¥याइसकेको छु । आगो नियन्त्रणका लागि अब समस्या छैन,’ उनले भने, ‘सुरुबाटै यो काम गरेको हुँ ।’ उनका अनुसार अब काठमाडौं महानगरपालिकाको २८ नम्बर वडामा आगो नियन्त्रणका लागि पाइप विछ्याउने काम भइसकेको छ । आफूलाई काम गर्न नगरवासी र मेयर बालेन शाहको साथ र सहयोग रहेको बताएका उनले नगरवासीले आवश्यकताको सूचना दिएलगत्तै काम गर्ने गरेको बताए । ‘यहाँ ढल चाहियो, पानी चाहियो भन्ने वित्तिकै हामीले त्यहाँ पुगेर काम गर्ने गरेका छौँ,’ वडाध्यक्ष खड्गीले बताए ।

आफ्नो वडामा गुनासो नआउने गरी काम गरेको दाबी गरेका उनले नागरिकबाट कुनै पनि गुनासो नआएको बताए । दोस्रो कार्यकालमा काम गरिरहेका उनले जनताको अपेक्षा, चाहना र आवश्यकतालाई ध्यान दिएर काम गरेको बताए । अब वडाको आफ्नै प्रशासनिक भवन बनाउने उद्देश्यका साथ काम गरिरहेको बताए । ‘हाम्रो अहिले आफ्नै भवन बनाउने उद्देश्य लिएका छौँ,’ उनले भने, ‘चार महिनाभित्र बनाउन थाल्ने योजना छ ।’

वडाको प्रशासनिक भवनका लागि १२ आना जग्गा रहेको उनले बताए । राष्ट्रिय परिचयपत्र बनाउन तोकिएको स्थानमा आउन नसकेका अशक्तको बायोम्याट्रिक घरमै गएर लिने तयारी गरेको उनको भनाइ छ ।

गुनासो नआउने गरी काम गरेकै कारण विकास निर्माणदेखि सेवा प्रवाहसम्ममा नागरिकको गुनासो नआएको वडाध्यक्ष खड्गी बताउँछन् । नागरिकका प्रशासनिक कार्य झन्झटरहित र छिटो छरितो गर्ने गरेको बताउँदै उनले स्वास्थ्य, शिक्षालगायतमा पनि वडाले विशेष ध्यान दिएर काम गरेको जानकारी दिए ।